काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको अन्ताल्या पुगेका छन् ।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्की पुगेका हुन् । यसवर्षको कोप ९ देखि २० नोभेम्बर अर्थात् २३ कात्तिकदेखि ४ मंसिरसम्म आयोजना हुँदैछ ।
सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले ९ नोभेम्बर अर्थात् भोलि सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उनले ११ र १२ नोभेम्बरमा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा : ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ ।
योसँगै परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल कोप–३१ बाट १४ नोभेम्बर अर्थात् २८ कात्तिकमा स्वदेश फर्किनेछन् ।



