काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ : ३० बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ भने बेलुका ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल हुनेछ ।
प्लेअफमा पुग्नका लागि आजका खेलमा सबै टिमलाई निश्चित जित आवश्यक छ । ५ खेलबाट ४ अंक बटुलेको विराटनगरलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यता छ । आजको खेलमा पराजित भएमा विराटनगरको अघिल्लो चरण प्रवेशको ढोका बन्द हुनेछ ।
५ मध्ये १ खेल मात्रै जितेको पोखराको भने प्लेअफको सम्भावना करिब समाप्त भइसकेको छ । यद्यपि पोखरा विराटनगरविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रिनेछ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल हुनेछ । ५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ ।
५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको कर्णाली पनि प्लेअफको ढोका खुल्ला राख्न लुम्बिनीविरुद्ध निश्चित जितको खोजीमा मैदान उत्रिदैछ ।



