भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–९ राधेराधेमा रहेको प्रजापति कम्प्लेक्समा भीषण आगलागी हुँदा ८० लाखभन्दा बढीको क्षति भएको छ ।
कम्प्लेक्सको सातौं तलामा शनिबार बिहानै आगलागी सुरु भएको थियो । कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए ।
सो भवनको सातौं तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट हुँदा आगलागी भएको बताइएको छ ।
आगलागीबाट स्पामा मात्रै करिब ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसबाहेक कम्प्लेसका अन्य भागमा आगो लाग्दा करिब २० लाख गरी ८० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालक प्रजापतिले बताएका छन् ।
करिब डेढ घण्टापछि जुद्ध वारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।



