काठमाडौं । चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । चीन जानुअघि सांसदहरुले लामिछानेसँग उनकै निवासमा छलफल गरेका हुन् ।
सभापति लामिछानेसँगको भेटमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा एउटा टोली आइतबार चीन भ्रमणका लागि जाँदैछ ।
टोलीमा महामन्त्री आचार्यसँगै सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा.धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा.राम लामा, पुनमकुमारी अग्रवाल, डा.आनन्दबहादुर चन्द, डा.सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा चीन भ्रमणमा जाँदै छन् ।
चीन भ्रमणमा जान लागेको टोलीले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बढाउन र बीआरआईजस्ता परियोजनाबारे नेपालको स्पष्ट धारणा राख्न निर्देशन दिएका थिए ।
रास्वपाले सांसदहरुको चीन भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा छलफल हुने उल्लेख गरेको छ ।



