काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेका कारण देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली भू–भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
भरेराति पनि देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू–भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।



