उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

काठमाडौं । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत रुपमा समापन भएको छ । 

नदी तथा जलाशय किनारमा पूजासामग्रीसहित ब्रतालुले सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो  । यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । 

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै छठ पर्व अत्यन्त श्रद्धापूर्वक मनाइन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन पोखरी, नदी, इनार लगायतका जलाशय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरेर बसेका थिए । 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

छठ पर्वमा प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई नवदुलही झै सजाइएर विशेष रुपले छठ मनाउने गरिन्छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।

उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्‍याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update