काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी एसिया कप राइजिङ स्टार्स प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ ।
क्यानले प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले टोलीमा केही अनुभवी र केही नयाँ युवा खेलाडी समेटेर टोलीको घोषणा गरेको जनाएको छ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल टोलीमा अटाएका छन् ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता नोभेम्बर १९ देखि कतारमा आयोजना हुँदैछ । समूह चरणमा नेपालले नोभेम्बर २० मा भारत, नोभेम्बर २२ मा युएई तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने कार्यक्रम छ ।



