गोकर्णेश्वर नगरपालिकाले १६ कर्मचारी करारमा भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?

 

काठमाडौं । काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकाले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, इलेक्ट्रिसियन र कार्यालय सहयोगी पदमा कर्मचारी राख्न लागेको हो ।

सहायक कम्प्युटर अपरेटर चौथो तहमा ४ जना, इलेक्ट्रिसियन चौथो तहमा १ जना र श्रेणीविहीन कार्यालय सहयोगी पदमा ११ जना कर्मचारी माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए ।

यसको लागि नगरपालिकाले सार्वजनिक सुचना नै प्रकासन गरेको छ । प्रकाशित सूचनाअनुसार सहायक कम्प्युटर अपरेटर र इलेक्ट्रिसियन पदका लागि नेपाली नागरिक हुनुपर्नेछ । पुरुष उम्मेदवारको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक कम्प्युटर अपरेटर पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एसएलसी वा एसईई उत्तीर्ण गरेको अथवा एसएलसी वा एसईई उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी ६ महिनाको तालिम लिएको हुनुपर्नेछ ।

त्यस्तै, इलेक्ट्रिसियन पदका लागि एसएलसी वा एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट इलेक्ट्रिसियन विषयमा तह–२ को सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कार्यालय सहयोगी पदका लागि भने सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ ।

इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन दिनुपर्नेछ । छनोट प्रक्रिया सूचीकरण र अन्तर्वार्तामार्फत गरिने नगरपालिकाले जनाएको छ ।

आवेदन दस्तुर सहायक कम्प्युटर अपरेटर पदका लागि १ हजार रुपैयाँ र श्रेणीविहीन पदका लागि ५ सय रुपैयाँ तोकिएको छ । कर्मचारीको तलब प्रचलित कानुनबमोजिम हुने नगरपालिकाको भनाइ छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गोकर्णेश्वर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, काठमाडौंमा दरखास्त पेस गर्नुपर्नेछ । संक्षिप्त सूचीमा छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंसिर १ गते सुचना प्रकाशन गरेको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update