दुई जना पूर्वमन्त्रीसहित ६ जना सीआईबीद्वारा पक्राउ, यस्तो छ आरोप

काठमाडौं । ठगी आरोपमा दुई जना पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित रुपमा ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रुपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोप छ । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो । 

पक्राउ पर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले उल्लेख गरेको छ । 
ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

सो प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा अपचलन भएको प्रहरीको दाबी छ ।

सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको उल्लेख छ । 
सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने निर्णय गरिएको तथा त्यसबाट मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको उल्लेख छ । 

काठमाडौं जिल्ला अदालतबाट २ मंसिरमा पक्राउ अनुमति लिएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update