दल त्याग गरेका जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद गयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । 

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार उनीहरुले दल त्याग गरेको पत्रका आधारमा पद रिक्त भएको हो । 

जसपा नेपालले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । 

निर्वाचन आयोगले सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त भएको जानकारीका आधारमा उनीहरुको पद खाली भएको निर्णय गरेको हो । 

आयोगद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको छ ।’ 

पद रिक्त हुनेमध्ये मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन् ।

मधेश प्रदेशमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिकाका– ७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ । 
यसैगरी पर्साको कालिकामाई गाउँपालिकाका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।

कोशी प्रदेशअन्तर्गत खोटाङका आठ जना, भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना तथा इलामका दुई जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी आयोगले दिएको छ । 

जसमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१० का अध्यक्ष मुगाधन राईसहित विभिन्न गाउँपालिका तथा वडाका सदस्यहरुको पद रिक्त भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update