काठमाडौं । आज कात्तिक शुक्लपक्ष एकादशी अर्थात् हरिबोधनी एकादशी विधिपूर्वक तुलसी–दामोदरको विवाह गरी मनाइँदैछ ।
आजको दिनलाई हरिबोधनी एकादशी वा ठुलो एकादशी पनि भन्ने चलन छ । यही दिन असारमा हरिशयनी एकादशीमा घरआँगनमा रोपिएका तुलसीको मठ सिंगारेर विधिपूर्वक विवाह गरिन्छ ।
आजको दिन तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ ।
यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनबाट चार महिनाको लागि सुतेका विष्णु भगवान् आजकै दिन अर्थात कात्तिक शुक्ल एकादशी (हरिबोधनी) का दिन योगनिद्राबाट जाग्छन् भन्ने विश्वास रहेको छ ।
चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्य आजदेखि सुरु हुन्छन् । आजको दिनमा बराहक्षेत्र तथा उपत्यकाका चार नारायण (चाँगुनारायण, विशंखुनारायण, इचङ्गुनारायण, र शेषनारायण) मन्दिरमा विशेष मेला लाग्छ ।
भगवान् विष्णु योग निन्द्राबाट उठेको दिन भएकोले आजको दिनलाई देवउठनी पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेका बेला कुनै मांगलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताको आधारमा चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश तथा अन्य शुभ कार्यहरू गरिँदैन ।
चारमहिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ ।
भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतीकको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ । दिवङ्गत भएका पितृको नाममा आज खोलामा फूल तार्ने पनि प्रचलन रहेको छ ।



