स्थानीय तह निर्वाचनको तयारी, आज दलहरुसँग आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोग स्थानीय तह निर्वाचनका लागि तयारीमा जुटेको छ । निर्वाचनको तयारीका लागि राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गर्न लागेको आयोगले जनाएको छ । 

आयोगले आज विभिन्न छलफलका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई बिहान साढे ११ बजे बोलाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाइएको बताएका छन् । 

जसअनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको हो । 

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । 

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएकाले त्यसअघि नै निर्वाचनका लागि आयोगले नयाँ निर्वाचनको मिति घोषणा तथा आवश्यक तयारीका लागि गृहकार्य सुरु गरेको हो । 

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि छलफल आयोजना गरिएको हो । 

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरुसँग पनि छलफल गर्ने आयोगको तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update