काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आज भारत जाँदैछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री भएपछि उनी पहिलो पटक भारतको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटमा रहेको स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् ।
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा.एस जयशंकरले आइतबार नै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
योसँगै प्रधानमन्त्री शाहको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि हस्ताक्षर हुने सम्भावना छ ।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन् ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ नै नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ ।




