मुख्यमन्त्री बनेलगत्तै संकटमा यादव, कसरी पाउलान् विश्वासको मत ?

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ । शनिबार नियुक्त मुख्यमन्त्रीका लागि आइतबार १० बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

तर मुख्यमन्त्री यादवका लागि सरकार गठनभन्दा विश्वासको मत पाउन चुनौतीपूर्ण देखिएको छ । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार मुख्यमन्त्री बनेका हुन् ।

तर, एमाले र नेपाली कम्युनिस्ट पार्टी सरकार गठनको प्रक्रियामा असन्तुष्ट भएपछि तत्काल विश्वासको मत दिन इच्छुक देखिएका छैनन् । यस्तो अवस्थामा यादवलाई फेरि काँग्रेसको साथ निर्णायक बन्ने देखिएको छ । 

उनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिने घोषणा गरेका छन् । प्रदेशसभामा कुल १०७ सदस्य रहेकामा प्रतिनिधिसभा निर्वाचनका लागि चार सदस्यले राजीनामा दिएपछि हाल १०३ सदस्य कायम छन् । 

यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्छ । जसपा नेपालसँग २८ प्रदेशसभा सदस्य छन् । जसमध्ये एक जना निलम्बनमा रहेकाले २७ मत रहेको छ । अब उनलाई विश्वासको मत पाउन २६ मत आवश्यक छ ।

जनमत पार्टीसँग १२ प्रदेशसभा सदस्य रहे पनि अध्यक्ष डा.सीके राउतले निर्वाचनसम्म आफ्नो पार्टी कुनै पनि दलको सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन् ।

जनमतले सरकारमा नगई विश्वासको मत दिए ३९ मत पुग्छ । यस्तो अवस्थामा अब जसपाले काँग्रेस, एमाले वा नेकपामध्ये एउटा दलको बलियो साथ पाएमात्रै सरकार जोगिनेछ । 

तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिनुअघि जसपा नेपाल, एमाले र नेकपा मिलेर सरकार गठन गर्ने गरी छलफल चलेको थियो । 

तर, संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार बन्न नसकेपछि प्रदेश प्रमुखले उपधारा (३) अनुसार ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यो घटनाबाट एमाले र नेकपा असन्तुष्ट छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update