काठमाडौं । आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
जसका कारण कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
आज राति पनि कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।




