काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसक्रममा केही महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने सम्भावना छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजनाको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसअघि आइतबार प्रधानमन्त्री शाहसँग ताज होटलमा भारतीय विदेशमन्त्री एस. जयशंकरले करिब २० मिनेट कुराकानी गरेका थिए ।
प्रधानमन्त्री बालेनसँग छोटो संवादपछि जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग केही एजेण्डा केन्द्रित छलफल गरेका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा मुख्यगरी हवाई रुट र आर्थिक सहायताका सन्दर्भमा छलफल भएको बताइएको छ ।
भारतसँग नेपालको भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा आर्थिक सहयोगसम्बन्धी सम्झौता हुँदै छ । योसँगै भारतीय सहयोगका परियोजना उद्घाटनमा पनि दुईपक्षबीच समझदारी छ ।
यी विषयबाहेक दुई देशले १० बुँदे भिजन पेपर पनि सार्वजनिक गर्दै छन् । द्विपक्षीय औपचारिक बैठकमा यातायात, ऊर्जा, कनेक्टिभिटी र आर्थिक सहयोग मुख्य प्राथमिकताका विषय हुन् ।
भारत भ्रमण सकेर प्रधानमन्त्री शाह आजै स्वदेश फर्किने कार्यक्रम छ ।




