काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा विशेष सम्मानका साथ ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीले न्यानो स्वागत गरेलगत्तै भारतीय सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको हो ।
औपचारिक सम्मान ग्रहणसँगै प्रधानमन्त्री शाह आज दिनभर उच्चस्तरीय कूटनीतिक भेटवार्ता तथा द्विपक्षीय सम्झौताका कार्यक्रमहरूमा व्यस्त रहनेछन् ।
यस्तो छ आजको व्यस्त कार्यतालिकाः
-
गान्धी समाधिस्थलमा श्रद्धाञ्जली (बिहान १०:४० बजे): सम्मान गारदपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् ।
-
मोदीसँग वान-टु-वान र प्रतिनिधिमण्डलस्तरीय वार्ता (बिहान ११:०० बजे): हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै (वान-टु-वान) भेटवार्ता हुनेछ । त्यसलगत्तै ११:५० बजे दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित र सहकार्यका विषयमा औपचारिक वार्ता सुरु हुनेछ ।
-
परियोजना उद्घाटन र सम्झौता आदानप्रदान (दिउँसो १२:३५ बजे): वार्तापछि दुवै प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाहरूको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गर्नेछन् । सोही अवसरमा दुई देशबीच महत्वपूर्ण समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान हुनुका साथै सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
-
दिवाभोज र राष्ट्रपतिसँग भेट (दिउँसो १:१५ र ३:१५ बजे): भारतीय प्रधानमन्त्री मोदीले समकक्षी शाहको सम्मानमा दिउँसो १:१५ बजे दिवाभोजको आयोजना गरेका छन् । त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
दिल्लीको व्यस्त कूटनीतिक भ्रमण र सबै औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ ४:५० बजे नयाँदिल्लीबाट स्वदेश प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ ।




