Odapalika - The Fourth Estate - चौथो अंग
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ । महानगरले ३२ वटै वडामा यसता पदार्थको विक्री वितरणमा रोक लगाउने भएको हो । 

कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । 

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । 

कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताइएको छ ।  ‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौँ । उनान्तीसौँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी गर्ने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका छौँ ,’ उनले भने । 

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्नसक्ने व्यवस्था छ ।

२०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थलहरु शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ । 

सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update