Odapalika - The Fourth Estate - चौथो अंग
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा 

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन् । 

यी अस्पतालहरुमा जम्मा ३ हजार ७४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि हो । अस्पतालहरुलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको छ । बिहीबार ११ वटा अस्पतालहरुले प्रणालीमा आवद्धता जनाए । 

आवद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू छन् । यी २ वटा अस्पतालमा ६०० शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा छ । 

‘नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले दिएको स्वास्थ्य सम्बन्धी हक प्रत्याभूति गराउन महानगरपालिकाले काम गरिरहेको हो,’ स्वास्थ्य विभाग प्रमुख सजिना महर्जन भन्छिन् ।

लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसलाई व्यवस्थित र पारदर्शी बनाउन https://www.freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । 

कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरेको छ । 

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवाका लागि जान सक्छन् । 

विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सक्छन् । 

यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।  

साइटमा कसरी सेवा लिने

वेभ बारमा गएर ठेगाना टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ । 

साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन । 

निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन् ।

निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि 

१)  गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।

२)  यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।

३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने

४)  यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ । 

५)  बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update