Odapalika - The Fourth Estate - चौथो अंग
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?  

काठमाडाैँ । केही दिनयता निष्क्रिय रहेको पश्चिमी वायु पुःन सक्रिय बन्दा नेपालमा वर्षासँगै हिमपात हुने भएको छ । 

आज साँझबाट नेपालमा पश्चिमी वायुको प्रभाव थप सक्रिय हुँदैछ । यसले वर्षा र हिमपात गराउने मौसदविद्हरु बताउँछन् । 

आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु गर्ने र पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुँदा केही दिन पुनः हिउँदे वर्षा हुने मौसम विभागको भनाइ छ । 

आजबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउने छ । यो प्रणाली आइतबारसम्म जारी रहने छ ।

भोलि वाग्मतीसहित धेरै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि नै सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

भोलि राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशको तराई र कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

विभागका अनुसार आज बिहान गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने विभागको भनाइ छ । 

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update