 
                                                                    काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रममा १०६ जना विद्यार्थीले तालिम लिएका छन् ।
पालिकाभित्र रहेका ४ वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको पढ्दै सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी विद्यार्थीले तालिम पछि रोजगारी समेत पाएका छन् ।
हाल ४ वटा माध्यमिक विद्यालयका ९–१२ कक्षाका विद्यार्थीलाई आधारभूत प्लम्बिङ, हाउसवायरिङ, स्यानिटेशन, पेन्टिङ डिजाइन र भुकम्पप्रतिरोधी संरचना निर्माणको डकर्मी तालिम दिइएको थियो ।
तालिम पछि विद्यालय बिदाको समय अथवा बिहान बेलुकाको समय मिलाएर उनीहरुले तालिमको उपयोग (स्वरोजगार) गर्ने गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत वलीले बताए ।
उनका अनुसार तत्काल रोजगारी पाउने खालको तालिम दिएर उनीहरुलाई पढाइसँगै स्वरोजगार बन्न पालिकाले सहयोग गरेको हो ।
‘तालिम लिएर त्यसको उपयोग भएन भने काम नै भएन । हामीले ४ वटा विद्यालयमा अध्यनरत १०६ जना विद्यार्थीलाई विद्यालयमै तालिम केन्द्र राखेर तालिम दिएका हौँ । तालिम पछि पढाइलाई असर नगर्ने गरी पालिका, वडा, तथा सामुदायिक विद्यालयमा काम गर्न लगायाँै’, उनले भने, ‘यसले गर्दा पढेका कुराहरु तत्काल उपयोग गरेर व्यवहारिक अभ्यासमा जोड दिदाँ उहाँहरुको करियरसँगै आर्थिक उपार्जनमा समेत मद्दत पुग्यो ।’
पालिकाले चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सुरुवाती चरणको कार्यक्रम प्रभावकारी भएसँगै आगामी शैक्षिक सत्रदेखि अर्काे माध्यमिक विद्यालयमा समेत सञ्चालनको तयारी भएको वलीले बताए ।
पालिकाले जिल्लाको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको साझेदारीमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । उपभोक्ता कार्यालयले २ र पालिकालले २ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयमा अतिथि कक्षा
पढ्दै सिक्दै कमाउँदै कार्यक्रम सँगसँगै पालिकाले ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई अतिरिक्त कक्षाका रुपमा गेष्ट कक्षा (अतिथि कक्षा) समेत सञ्चालनमा ल्याएको छ ।
पालिकाले विद्यार्थीको करियर काउन्सीलिङमा जोड दिनका लागि पालिकामा पुगेका विभिन्न क्षेत्रका मानिसहरुलाई सहभागिता गराएर कक्षा सञ्चालन गर्ने गरेको छ ।
‘हाम्रो उद्देश्य विद्यार्थीहरुले पछि के पढ्ने भन्ने दोधार हटाएर र करियरमा फोकस गरुन् भन्ने हो । कति विद्यार्थीलाई म यो पढ्छु भन्ने होला, तर त्यसका लागि तयारी कसरी गर्ने लगायतका आवश्यक ससाना जानकारी नहुन सक्छ’, उनले भने, ‘त्यसलाई मद्दत गर्ने गरी हामीले विभिन्न सेक्टरमा आवद्ध व्यक्तिहरुलाई विद्यार्थीलाई काउन्सीलिङका लागि अनुरोध गछौँ । हाम्रो अनुरोधका आधारमा उहाँहरुले विद्यालयमा गएर गेष्ट कक्षा सञ्चालन गर्नुहुन्छ ।’

 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    