Odapalika - The Fourth Estate - चौथो अंग
पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम 

काठमाडौँ । जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई ९५ लाख  रुपैयाँ बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिए ।

स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास थालेको उनको भनाइ छ ।

गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको छ । स्वास्थ्य शिविरबाट ७२२ जनाले सेवा लिएका छन् ।

शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिए ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा २५९ जनाले सेवा लिएका थिए ।

सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको पालिकाको भनाइ छ  सिन्जाका ६ वडामध्ये ३ वटामा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा दिइरहेको बताए ।

कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन सिन्जाले १६ मध्ये १४ वटा सूचक पूरा गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update