Odapalika - The Fourth Estate - चौथो अंग
सिञ्जा गाउँपालिकाका २ हजार ४०० घरको बीमा, अधिकतम २० लाखको सीमा  

काठमाडौँ । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो । 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालल कार्यक्रमअनुसार २ हजार ४०० घरको बीमा गर्न लागिएको छ । गत चैत २५ मा कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेको थियो । सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको छ ।

कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्ने व्यवस्था छ । 

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ नै बनाएको प्रदेशले चालु आर्थिक वर्षमा बीमाका लागि ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update