 
                                                                    काठमाडौँ । स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ५ हजार ३३४ मत प्राप्त गरी विजयी भए ।
निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४ हजार ५५५ मत, एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरे ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भइन् ।
उनले २ हजार ८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले २ हजार ६०० मत पाइन् ।
कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत पाए ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भइन् ।
नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भइन् ।
सर्केगाडमा ६ हजार ८१० मतदाता मध्ये ४ हजार ५२४ मत खसेको थियो । तिमल्सिना १ हजार ६३७ मत ल्याएर विजयी भइन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय (४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत प्राप्त गरे ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी भए ।
निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत पाए ।
मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाए ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
 

 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    