 
                                                                    काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्दैछ ।
महोत्सवलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ । बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो ।
कोशी प्रदेशमा पुस १४ गते, मधेश प्रदेशमा पुस १५ गते, बागमती प्रदेशमा पुस १६ गते र गण्डकी प्रदेशमा पुस १७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश÷विदेशका बाँसविज्ञ तथा व्यवसायी सहभागी हुनेछन् ।
नगरप्रमुख भट्टराईको अध्यक्षतामा हुने प्रदेशस्तरीय कार्यक्रम अन्तरगत कोशी प्रदेशमा सहारा नेपाल, मधेश प्रदेशमा डिभिजन वन कार्यालय र धनुषाधाम जनकपुर तथा बागमती र गण्डकी प्रदेशमा अर्थ मन्त्रालयको व्यवस्थापन र संंयोजनमा कार्यक्रम हुने जनाइएको छ । प्रदेशस्तरीय कार्यक्रममा बाँस विज्ञ, सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीको सल्लाह, सुझाव र चुनौति सुनेर योजना बनाइने नगरप्रमुख भट्टराईले बताए ।
बाँस सम्मेलनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेटसमेत व्यवस्थापन गरेको छ । बाँस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले ४२ लाख रुपैयाँ बराबरको सम्मेलनलाई आवश्यक पर्ने जिन्सी सामग्री उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए ।
राष्ट्रिय बाँस सम्मेलनमा स्टल राख्न १५ जिल्लाबाट प्रस्ताव आइसकेको जनाइएको छ । राष्ट्रिय बाँस सम्मेलनाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान छ ।
सम्मेलनमा स्टल राख्न नगरपालिकाका १५ वटै वडाबाट बाँससम्बन्धी व्यवसाय सञ्चालन गरिरहेकालाई हेटौँडाबाट झिकाइएका बाँसविज्ञ चन्द्रबहादुर थिङले नेपालमा तालिम दिइरहेका छन् ।
तालिमसँगसँगै सहभागीले सम्मेलनमा राख्न बाँसबाट विभिन्न प्रकारका सामग्रीसमेत तयार गर्ने जनाइएको छ ।
नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन बेम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको हो ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’का लागि सम्मलेलनका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिको भेलाले दिक्तेल बजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको हो । 
 

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    