Odapalika - The Fourth Estate - चौथो अंग
युवन्तिकाको इमेलः मलाई केही भइहालेमा वडापालिका जिम्मेवार हुनेछ 

काठमाडौँ । नेकपा एमालेकी एकजना जिल्लास्तरीय नेताले आफुलाई केही भइहालेमा वडापालिका डटकम जिम्मेवार हुनुपर्ने भन्दै वडापालिकाको अफिसियल इमेल ठेगानामा इमेल पठाएकी छन् । 

सोमवार पठाइएको सो इमेल ठेगानामा पठाउनेको नाम युवन्तिका कुलुङ लेखिएको छ भने सम्पादकलाई सम्बोधन गरेर पठाइएको पत्रमा इमेल लेख्ने व्यक्तिलाई युवन्तिका तामाङ शेर्पा भनेर चिनाइएको छ । 

पत्रमा कुन समाचारका कारण युवन्तिकाको प्रतिष्ठामाथि आघात पुगेको? उनको व्यक्तिगत जीवन र सुरक्षामा खतरा उत्पन्न भएको हो भनेर केही खुलाइएको छैन । 

उनले पत्रको सुरुमा भनेकी छन्, ‘मैले तपाईहरुको पोर्टलमा प्रकाशित भ्रामक अतिशयोक्तिपूर्ण र मेरो व्यक्तिगत जीवनलाई लक्ष्य बनाएर लेखिएको खबरको खुल्ला रुपमा खण्डन गर्दछु ।’

उनले इमेलमा लेखिएको समाचार हटाउन, माफी माग्न र आगामी दिनमा थप समाचार नलेख्ने ज्ञारेन्टी गरिदिन माग समेत गरेकी छन् । 

वडापालिका डटकममा केही दिन अघि नेकपा एमाले इलाम जिल्ला कमिटी सदस्यले झुटा विवरण दिएर नागरिकता बनाएको र उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेका नेताहरुलाई कसरी झुक्याउदै आएकी छिन् भन्ने विषयमा समाचार भने प्रकाशन गरेको थियो । 

यस्तो छ युवन्तिकाको नाममा वडापालिकालाई प्राप्त सामग्री

प्रमुख सम्पादक ज्यू 

वडापालिका न्युज,

काठमाडौं, नेपाल  

मैले तपाईंहरूको पोर्टलमा प्रकाशित भ्रामक, अतिशयोक्तिपूर्ण र मेरो व्यक्तिगत जीवनलाई लक्ष्य बनाएर लेखिएको खबरको खुल्ला रुपमा खण्डन गर्दछु। तपाईंहरूले मेरो व्यक्तिगत तस्बिरहरू बिना अनुमति प्रयोग गरी मेरो चरित्र, व्यक्तिगत जीवन र परिवारप्रति आधारहीन आरोप लगाउनु भएको छ। यसको साथै, तपाईंहरूले नगरपालिका/गाउँपालिकाबाट प्रमाणित गरिएको संवेदनशील कागजात पनि बिना अनुमति प्रकाशित गर्नु भएको छ, जसले मेरो व्यक्तिगत जीवन र प्रतिष्ठामा गम्भीर क्षति पुर्याएको छ।  तपाईंहरूले मेरो व्यक्तिगत जीवनलाई लिएर गरिएको यस्तो अप्रासंगिक र अश्लील प्रचारले मेरो वर्षौंदेखि को मेहनत र संघर्षबाट बनेको प्रतिष्ठालाई ध्वस्त पार्न खोजेको छ। तपाईंहरूले कुनै पनि प्रमाण नदिई मेरो व्यक्तिगत सम्बन्धहरूमा अनावश्यक टिप्पणी गर्नु, मेरो चरित्रलाई प्रश्न गर्नु र मेरो परिवारलाई यस प्रकरणमा घिचो पर्नु पूर्ण रुपमा अनैतिक र अस्वीकार्य छ।  

विशेष गरी, तपाईंहरूले नगरपालिका/गाउँपालिकाबाट प्रमाणित गरिएको संवेदनशील कागजात प्रकाशित गर्नु भएकोले यो मामिला अझ गम्भीर बनेको छ। यस्तो कागजात प्रकाशित गर्नु कानूनी र नैतिक दुवै दृष्टिकोणबाट गलत छ। यसले मात्र मेरो प्रतिष्ठा माथि आघात गरेको छैन, तर मेरो व्यक्तिगत जीवन र सुरक्षामा पनि खतरा उत्पन्न गरेको छ।  भोलिको दिनमा मलाई केही भइहालेमा वडापालिका जिम्मेवारी हुनेछ ।

मिडियालाई राष्ट्रको चौथो अङ्ग भनेर मानिन्छ किनभने यसले जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संरक्षण गर्ने जिम्मेवारी लिन्छ। तर, आज तपाईंहरूले यस शक्तिलाई दुरुपयोग गरी मेरो व्यक्तिगत जीवनलाई लक्ष्य बनाउनु भएको छ। तपाईंहरूले मेरो व्यक्तिगत तस्बिरहरू र संवेदनशील कागजातहरू बिना अनुमति प्रकाशित गर्नु भएको छ। यो कुनै पनि रुपमा पत्रकारिता होइन। तपाईंहरूले खबर लेख्नुहुन्छ, तर अरूको व्यक्तिगत जीवनमा गएर पारिवारिक कुरालाई जोडेर चरित्र हत्या गर्न पाउनु हुँदैन। यस्तो कार्यले मात्र व्यक्तिगत प्रतिष्ठा माथि आघात गर्दैन, तर समाजमा मिडियाप्रति रहेको विश्वासलाई पनि ध्वस्त पार्छ। तपाईंहरूले गरेको यो कार्य सरासर अनैतिक र अस्वीकार्य छ। मिडियाको कर्तव्य भनेको सत्य र न्यायको पक्षमा खडा हुनु हो, कसैको प्रोत्साहनमा अर्काको चरित्र हत्या गर्नु होइन। तपाईंहरूले यो कार्य तत्काल रोक्नु पर्छ र यस्तो गलत प्रचार प्रसार गरेकोमा सार्वजनिक रुपमा माफी माग्नु पर्छ।  

मैले तपाईंहरूबाट तत्काल निम्न कदमहरूको माग गर्दछु:  

१. मेरो व्यक्तिगत तस्बिरहरू र संवेदनशील कागजात सहितको खबर तत्काल हटाउनुहोस्।  

२. मेरो प्रतिष्ठा र भावनात्मक अवस्थामा पुगेको क्षतिको लागि सार्वजनिक रुपमा माफी माग्नुहोस्।  

३. म र मेरो परिवारप्रति सम्बन्धित कुनै पनि अप्रमाणित, अतिशयोक्तिपूर्ण वा मानहानिकारक सामग्री प्रकाशित नगर्ने ग्यारेन्टी दिनुहोस्।  

यदि तपाईंहरूले यस मामिलालाई गम्भीरतापूर्वक लिएन भने, म आफ्नो हक र न्यायको माग गर्न कानूनी कारबाही गर्न बाध्य हुनेछु।  

आशा छ, तपाईंहरूले यस मामिलालाई गम्भीरतापूर्वक लिनुहुनेछ र तत्काल सुधारात्मक कदम चाल्नुहुनेछ।  

सादर,

युवान्तिका तामाङ शेर्पा 

९८५२६२५०७६

email-1738653003.jpeg
 

(वडापालिका डटकममा इलामकी युवन्तिका राईले जिल्ला प्रशासन कार्यालय चितवनमा झुटो विवरण दिएर युवन्तिका तामाङको नाममा नागरिकता लिएको, सोही नागरिकताको आधारमा राहदानी बनाएर बिदेश गएको, सोही नागरिकता प्रयोग गरेर सगरमाथा आरोहण गरेको तथा झुटो विवरण दिएर बनाइएको नागरिकता प्रयोग गरी ‘श्रीमान्’को मृत्युपछि विवाह दर्ता गराएको विषयमा यसअघि समाचार प्रकाशन भएकोे छ । इमेल पठाउने युवन्तिका कुलुङ (पठाउनेको इमेल ठेगानाअनुसार) र खण्डनमा लेखिएको नाम युवन्तिका तामाङ शेर्पाले नै यो इमेल पठाएको हो भन्ने विश्वासका आधारमा उनले पठाएको सामग्री जस्ताको तस्तै प्रकाशन गरी यसअघि लेखिएका समाचारको लिंकसमेत यसै सामग्रीका साथ राखेका छौँ । किनभने प्रकाशित समाचारमा समावेश तथ्य र प्रमाणप्रति हामी दृढ छौँ । स्वामित्व नलिने भन्ने प्रश्न नै रहदैन– सम्पादक)

राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका

युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update