Odapalika - The Fourth Estate - चौथो अंग
रातो मच्छिन्द्रनाथबारे आसाममा चर्चा, मेयरले भनेः बेत ल्याउन सजिलो बनाइदेऊ 

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन अनुरोध गरेका छन् । 

गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गरेका हुन् । 

रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्ने भएकाले यो प्रक्रियालाई सहज बनाउन अनुरोध  गर्दै उनले  भने¬ रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ ।” 

नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्ता पनि गरे । 

कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।

कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताए । 

रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गरे । 

महानगरका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गरे । पानेजु सङ्घका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरे ।

गुठी संस्थानका निमित्र् प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत सङ्कलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गरे । त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथ’को भूमिका विषयक कार्यपत्र र डा विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गरे ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update