Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट सकिदै स्वस्थानी व्रत

काठमाडौँ । आज माघ शुक्ल पूर्णिमा । आजैबाट एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । 

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । 

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । 

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update