Odapalika - The Fourth Estate - चौथो अंग
निजामती सेवामा थपियो सूचना प्राविधिक समूह, संसद र स्वास्थ्यको के भयो ? 

काठमाडौँ । नेपालको संघीय निजामती सेवामा अब ११ वटा समूह हुने भएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती सेवामा नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्ने निर्णय गरेको छ । 

आज बसेको समितिको बैठकले विधेयकको दफा ५ पारित गर्दै यसअघि कायम १० वटा समूहलाइ बढाएर ११ वटा बनाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

विधेयकमा संसद सेवा र स्वास्थ्य सेवा थपगर्ने भनिए पनि समितिले यस विषयमा अझैसम्म निर्णय लिन सकेको छैन । संसद सेवा र स्वास्थ्य सेवा समूहबारे सरकारले आवश्यक तयारी नपुगेको र प्रावधानहरू थप गर्नुपर्ने बताएपछि कुनै निर्णय नभएको समितिका सदस्यहरुले बताएका छन् । 

निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update