
काठमाडौँ । झापालाई प्याजमा आत्मनिर्भर बनाउन ६ वटा स्थानीय तहले अनुदानमा आधारित प्याज खेती सुरु गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दिएको ५० प्रतिशत अनुदान लिएर शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाका कृषक समूहले प्याज खेती सुरु गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार परियोजनामार्फत जिल्लामा साढे ६ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ ।
महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनको भनाइ छ ।
व्यावसायिक खेती प्रवद्र्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ५० हजार बजेट विनियोजन गरेको छ । प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका लागि प्रसताव आह्वान गरेको थियो ।
जसमा १३ किसान समूहले प्रस्ताव पेस गरे पनि ११ समूह र व्यक्तिले मात्र खेती गरेका छन् । गौरीगञ्ज–२ मा आदिवासी महिला कृषक समूहको अगुवाइमा दुई बिगाहा जमिनमा प्याज रोपण कार्य भइरहेको छ ।