Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय आर्थिक विकासमा काठमाडौँका स्थानीय तह नैै  कमजोर, १० पालिकाको प्रगति आधाभन्दा कम 

काठमाडौँ । स्थानीय आर्थिक विकास मूल्यांकनमा काठमाडौँ उपत्यकाकै स्थानीय तहहरुको अवस्था कमजोर देखिएको छ । 

स्थानीय आर्थिक नीति र योजना, आर्थिक विकास पूर्वाधार, आर्थिक शसक्तिकरण र उद्धमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन शीर्षकमा १०० पूर्णाङ्कमा मूल्यांकन गरी स्थानीय तहले आफुले आफैँलाई नम्बर दिने प्रक्रिया नै स्थानीय आर्थिक विकास मूल्यांकन हो ।

यस्तो मूल्यांकनमा उपत्यकाका नगरपालिकाकै अवस्था कमजोर देखिएको छ भने ७५३ वटा स्थानीय तहमध्ये भंगाहा नगरपालिका सबैभन्दा अन्तिममा देखिएको छ । उपत्यकाका चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको अवस्था पनि सन्तोषजनक देखिएको छैन । 

यस्तो मुल्यांकन स्थानीय तह आफैँले गरेर प्रतिवेदन तयार पार्ने हो । यो प्रतिवेदनलाई सम्बन्धित जिल्ला समन्वय समितिले मूल्यांकन गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ । 

यसका लागि सरकारले स्थानीय आर्थिक विकास मूल्यांकन कार्यविधि २०७९ बनाएर कार्यान्वयनमा ल्याएको छ । 

यो कार्यविधिले हरेक वर्ष पुस मसान्तभित्र सम्बन्धित स्थानीय तहले मूल्यांकन प्रतिवेदन तयार पार्ने र माघ मसान्तभित्र जिल्ला समन्वय समितिले अन्तिम मूल्यांकन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

यस्तो व्यवस्था भए पनि जिससले अन्तिम मूल्यांकन गरेर जम्मा ४३ वटा स्थानीय तहको मात्र प्रतिवेदन सार्वजनिक भएको छ । अहिलेसम्म ६४ वटा स्थानीय तहले भने यस्तो मूल्यांकन प्रतिवेदन तयार पारेको दाबी गरेका छन् । तर ती प्रतिवेदन मूल्यांकनका लागि जिससमा भने नपठाइएको संघीय मामिला मन्त्रालयको तथ्यांकले देखाउँछ । 

यो मूल्यांकन आर्थिक नीति तथा योजनमा २४ अंक, आर्थिक विकास पूर्वाधारमा २६ अंक, आर्थिक शसक्तिकरणमा २४ अंक र उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धनमा २६ अंक गरी जम्मा १०० अंकमा हुने गरेको छ । 

प्राप्त भएका तथ्यांकअनुसार सबैभन्दा कम अंक पाउनेमा भंगाहा नगरपालिका छ । जसले जम्मा १९ अंक मात्र पाएको छ भने ठाँटीकाँध गाउँपालिकाले २५, हिलिहाङ गाउँपालिकाले ३७, रोङ गाउँपालिकाले ४०.५ र सुन्दरबजार नगरपालिकाले ४१ अंक पाएका छन् । 

त्यसैगरी तुम्वेवा गाउँपालिकाले ४२ अंक, गोकर्णेश्वर नगरपालिकाले ४४ अंक, कचनकवल गाउँपालिकाले ४५ अंक, चन्द्रागिरि नगरपालिकाले ५७ अंक र कलैया उपमहानगरपालिकाले ४७.५ अंक पाएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update