Odapalika - The Fourth Estate - चौथो अंग
जात्रामय बने भक्तपुर, मध्यपुरथिमि, सूर्यबिनायक र टोखा नगरपालिका 

काठमाडौँ । नयाँ बर्ष सुरु भएकै दिन उपत्यकाका ४ वटा स्थानीय तह जात्रामय भएका छन् । 

भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका विस्का जात्राले सिंगारिएका छन् भने भक्तपुरकै सूर्यविनायक नगरपालिका स्थित चरखण्डी मन्दिर क्षेत्र पनि आज जात्रामय भएको छ । 

स्थानीयको कुल देवता पूजा गर्ने पर्वका रुपमा सुर्यबिनायकको चरखण्डीस्थित शिव मनिदमा बिहानैदेखि दर्शनाथृिको घुइँचो छ  । उता विस्काको अवसर पारेर भक्तपुर नगरपालिकाले ३ दिन सार्वजनिक बिदा नै घोषणा गरेको छ । 

काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिकास्थित टोखा क्षेत्रमा लाग्ने सपनतीर्थ मेला पनि सुरू भएको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको छ । 

प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए ।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ । सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । 

    
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update