
काठमाडौँ । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ ।
रुपामा कुल ३ हजार ५०० घरपरिवार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यहोर्नेछ ।
बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले बताए ।
गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम गरिएको हो ।
पालिकाभित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरिएको गाउँपालिकाले जनाएको छ ।
रुपा अस्पतालमा हाल दुई चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत छन् । अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना छ । सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक र ५० लाख रुपैयाँ खर्च गर्दै आएको छ ।