Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय क्रिकेट टीमका क्याप्टेनससहित ६ चर्चित खेलाडी वर्ल्डलिंकको ब्राण्ड एम्बेसडर 

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रियस्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । 

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको बताएको छ । 

नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी  छन् । यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका छन् । नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्ध गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको कार्यकारी निर्देशक अग्रवालल जानकारी दिए । 

‘६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन् जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ । उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्,’ उनले थपे,  ‘वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ’

यो सहकार्यले हाम्रो ब्राण्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग सम्बन्ध अझ गाढा बनाउने विश्वास उनले व्यक्त गरे । 

कार्यक्रममा मुख्य कार्यकारी अधिकृत केशव नेपालले नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको भन्दै  वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको बताए । 

‘गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्योे, हामी गर्वका साथ घोषणा गछौँ कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ,’ उनले भने । 

उनका अनुसार यो सहकार्य केवल ब्राण्ड प्रवद्र्धन नभइ नेपाली जनताको भावना र गौरवसँग जोडिएको छ । ‘यो हाम्रो आत्मीय प्रतिबद्धता हो । क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ । हामी वर्ल्डलिंकका रूपमा राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौँ,’ उनले भने ।

छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।

उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रॉडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ । 

वर्ल्डलिंक निरन्तर प्रगतिको मार्गमा अघि बढिरहेको छ, स्थानीय समुदायलाई सहयोग गर्दै र नवप्रवर्तन र डिजिटल सशक्तिकरणमार्फत जीवनस्तर सुधार्न समर्पित रहेको कम्पनीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update