Odapalika - The Fourth Estate - चौथो अंग
बोहराको निधनपछि रुपन्देहीमा बढ्यो चुनावी सरगर्मी, राप्रपाका यी ५ मध्ये कसले मार्ला बाजी ? 

काठमाडौँ । रुपन्देही–३ का प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनसँगै सो क्षेत्रमा उपनिर्वाचनको सरगर्मी तीव्र बनेको छ । अहिले उम्मेदवार चयन र भावी रणनीतिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र व्यापक छलफल र बहस सुरु भएको छ ।

पछिल्लो आम निर्वाचनमा स्वास्थ्य समस्याका कारण दीपक बोहरा आफैं निर्वाचन सभाहरूमा भाषण गर्न नसक्ने अवस्थामा थिए । तर, उनले आफ्नो सक्रियता र प्रतिबद्धता कम हुन दिएनन् । शारीरिक रूपमा उनी विभिन्न कार्यक्रममा उपस्थित भएर जनतासँग प्रत्यक्ष सम्पर्क राखे, भेटघाट गरे र आफ्नो उपस्थितिमार्फत जनसमर्थन मजबुत बनाए ।

बोहराले रुपन्देही जिल्लाको विकासमा लामो समयदेखि पुर्याएको योगदान स्थानीय जनताले गहिरो रूपमा महसुस गरेका थिए । सडक विस्तार, शिक्षा सुधार, स्वास्थ्य सेवा अभिवृद्धि, स्थानीय पूर्वाधार निर्माण लगायत थुप्रै क्षेत्रमा उनले पुर्याएको सक्रिय भूमिकाले उनी जनताको विश्वास जित्न सफल भएका थिए ।

दीपक बोहराको निर्वाचन विजय पछाडि राप्रपाका वरिष्ठ नेताहरूको समन्वित प्रयास निर्णायक थियो । पूर्वमन्त्री निरञ्जन थापाले सम्पूर्ण निर्वाचन अवधिमा रणनीतिक सल्लाह, निर्वाचन योजना निर्माण र प्रमुख निर्वाचन सभाहरूमा मुख्य भूमिका निर्वाह गरेका थिए । 

३ पटक नगरप्रमुख भइसकेका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले स्थानीय तहमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गरेका थिए । वडास्तरदेखि गाउँस्तरसम्म कार्यकर्ताहरूलाई परिचालन गर्दै उनले पार्टीको पक्षमा जनलहर सिर्जना गरेका थिए ।  

लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले निर्वाचन अभियानमा कार्यकर्ता परिचालन, व्यवस्थापन र संगठनात्मक समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।  उनले अभियान सञ्चालनमा साथ दिँदै टोलीलाई सहयोगी वातावरणमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याए। विभिन्न स्थानमा सम्बोधन गर्दै पार्टी सन्देश प्रवाह गर्नुका साथै उनले अन्य संघसंस्थासँग समन्वयमा पनि प्रभावशाली क्षमता प्रदर्शन गरे।

राप्रपाकी केन्द्रीय सदस्य तथा बोहराकी नातिनी स्वाती थापाले निर्वाचनको प्रमुख भूमिका कमाण्डरको रूपमा सशक्त नेतृत्व दिइन्। समाजिक सेवामा समर्पित थापाले पार्टीहरूबीच एकता कायम राख्दै जनसम्पर्क, कार्यकर्ता परिचालन, भौतिक व्यवस्थापन र संगठनात्मक समन्वयमा उल्लेखनीय योगदान पुर्याइन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट बहुविषयहरूमा स्नातकोत्तर हासिल गरेकी थापाले विभिन्न स्थानमा दीपक बोहराको प्रतिनिधित्व गर्दै प्रभावशाली भाषणमार्फत जनताको मन जित्न सफल भइन्।

यी सबै नेताहरूको संगठित र समन्वित प्रयासले गर्दा दीपक बोहराले आफैं निर्वाचन मञ्चमा नबोलिकन पनि ऐतिहासिक विजय हासिल गरेका थिए।

उम्मेदवार चयनमा राप्रपा दुविधामा

बोहराको निधनपछि खाली भएको रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयनको विषयले राप्रपाभित्र गम्भीर छलफल र असमञ्जस सिर्जना गरेको छ ।

दिवंगत बोहराका जेठी श्रीमती मञ्जु बोहराका तर्फबाट जेठा छोरा गौरव बोहरा, हुन् । उनी बुद्ध एयरका वरिष्ठ क्याप्टेन हुन् भने कान्छी श्रीमती उन्नति बोहरा शीला तर्फबाट कान्छा छोरा प्रज्वल बोहरा जो आईटी विशेषज्ञ हुन्  । दुवैजना निर्वाचन मैदानमा अहिले सक्रिय देखिएका छन् । दुबैले पार्टीबाट उम्मेदवारीको दाबी गरेका छन् । 

यता, पार्टीका वरिष्ठ नेता निरञ्जन थापा र जिल्ला अध्यक्ष सागर प्रताप राणा पनि सम्भावित बलिया अनुभवी उम्मेदवारका रूपमा अगाडि छन् । थापाले पार्टी संगठनमा बलियो पकड राखेका छन् भने राणा स्थानीय तहमा लोकप्रिय छन् । 

पछिल्लो निर्वाचनमा प्रभावशाली नेतृत्व देखाएकी पार्र्टीमा क्रियाशील स्वाती थापा पनि सम्भावित उम्मेदवारका रूपमा गम्भीर रूपमा चर्चा भइरहेको छ ।  थापाको उम्मेदवारीले पार्टीभित्र नयाँ पुस्ता र महिला नेतृत्वको प्रतिनिधित्वसमेत हुने अपेक्षा गरिएको छ ।

राप्रपासामु ३ विकल्प

उपनिर्वाचन मिति तया भएर उम्मेदवार चयनको बेलासम्ममा राप्रपाले ३ मध्ये एक विकल्पमा निणर््य गर्नुपर्ने अवस्था देखिएको छ ।  दिवंगत बोहराका छोरामध्ये कुनै एकलाई उम्मेदवार बनाउने, अनुभवी र स्थापित नेता निरञ्जन थापा वा सागर प्रताप राणालाई अघि सार्ने या  महिला नेतृत्वका रुपामा केन्द्रिय सदस्य तथा बोहोराकी नातिनी स्वाती थापालाई उम्मेदवार बनाउने निर्णय गर्नुपर्ने छ ।

कांग्रेस र एमालेका आकांक्षी को ? 

रुपन्देही–३ को उपनिर्वाचनका लागि विभिन्न दलहरू सम्भावित उम्मेदवारको तयारीमा छन् । नेकपा एमालेबाट पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, र पोलिटब्युरो सदस्य दधिराम (माधव) न्यौपाने आकांक्षी छन् । भट्टराई अघिल्लो निर्वाचनमा रुपन्देही–५ बाट उम्मेदवार बनेका थिए भने न्यौपाने माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसतर्फ बालकृष्ण खाण, प्रमोद यादव, भरत शाह र रामचन्द्र ढकालको नाम चर्चामा छ । खाण र शाह देउवा समूहमा परे पनि हाल खाण इतर समूहमा लागेका चर्चा छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update