
काठमाडौँ । अर्थशास्त्री डा विश्वनाथ पौडेल नेपालको १८औँ गभर्नर बनेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिव २ महिनादेखि कायममुकायम गभर्नरका भरमा चलेको राष्ट्रबैँकले अब गभर्नर पाएको छ । आजै बसेको गभर्नर सिफारिस समितिले पौडेलसहित ३ जनाको नाम गभर्नरका रुपमा मन्त्रिपरिषदसमक्ष शिफारिस गरेको थियो ।
यसअघि सिफारिस समिति सदस्य समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरका उम्मेदवारका रुपमा अघि सारेपछि उनले समितिबाट राजिनामा दिएका थिए ।
समितिबाट राजिनामा दिएर गभर्नरको दौडमा लागेपछि उनीविरुद्ध सर्वोेच्च अदालतमा रिटसमेत परेको थियो । तर सर्वोच्च प्रशासन र इजलास दुबैले उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट दर्ता गर्न अस्वीकार गरिसकेको छ ।
को हुन विश्व पौडेल ?
पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए ।
पौडेललाई देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ । यसअघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
ललितपुरमा रहेको युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन् ।
पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन् । पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन् ।
सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका उनी विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन् ।
पौडैल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष पनि भइसकेका छन् । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका विश्व पौडेल पछिल्लो समय काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका प्रोफेसर छन् ।