
काठमाडौँ । नेपाली समाज दलाललाई देवता बनाउँछ । भक्तलाई भगवान ठान्छ । जस्तो कि रामभक्त हनुमानको पूजा हुन्छ । पुराणजस्ता धार्मिक अनुष्ठानमा भनिन्छ, समस्त भक्तजनको– जय !
पत्रकारिता पनि समाजकै एक अंग हो । हामी पत्रकारहरु नेता वा व्यवस्थापकलाई मान्छे मात्रै रहन दिदैनौं । हाम्रो लेखनीमा उनीहरु कि देवता बनेका हुन्छन्, कि राक्षस । उनीहरु मान्छे नै रहन पाएका हुन्थे भने मान्छेमा हुने गुणहरु हुन्छन् भन्ने स्वीकार गरिन्थ्यो । मान्छेमा प्रेम, सद्भाव, रिस, इष्र्या, जलन, आशक्ति, लोभ, मोह, घृणा, आकर्षण, गतिशीलता, आवेग, धारणा, सवल र दुर्वल पक्ष आदि हुन्छन् ।
डा. विश्व पौडेलले गभर्नरको कार्यभार सम्हाल्न बुधबार नेपाल राष्ट्र बैंक जाँदा हामीले उनलाई मान्छे हुन दिएनौं । भगवान बनायौं । नेपाली अर्थतन्त्रको रामवाण धारक, सञ्जिवनी बुटीका खानी भगवान डा. विश्वनाथ पौडेल बनायौं ।
र, नेपाली समाज बढो फिल्मी छ । धेरै नेपाली आफ्नो दिमागमा रोमाञ्चक कथानक चलचित्रको स्क्रीप्ट बोकेर हिडेका हुन्छन् । हामीलाई भगवान, देवता वा नायक मात्रै भएर पुग्दैन, राक्षस वा भिलेन पनि चाहिन्छ । नयाँ गभर्नर डा. विश्वनाथलाई देवता वा नायक बनाइदै गर्दा राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगानालाई राक्षस वा भिलेन बनायौं हामीले । यो स्वभाविक किन पनि हो भने पत्रकारिता पनि समाजकै एउटा अंग न हो ।
नेपाली पत्रकारितामा नयाँ गभर्नर डा. विश्वनाथको स्तुतिगानको शाकुन्तल महाकाव्य नै तयार भए । विश्वनाथको विज्ञता, विश्वनाथको योग्यता, विश्वनाथको इमान्दारिता, विश्वनाथको क्षमता आदिको वर्णन मिडियामा छाए । विश्वनाथको आगमनपछि नेपालको बैंकिङ क्षेत्र, रोजगारी सिर्जना, सेयर बजार, समग्र अर्थतन्त्र सबैतिर चामत्कारिक उपलब्धी हुने विश्लेषण पढियो, सुनियो । र, अनौठो त केसम्म भयो भने उनको इमान र आत्मसम्मानको पनि वर्णन सुनियो । एउटा अनलाइन संचारमाध्यममा त डा. विश्वनाथले गम्भीर मुद्रामा सपथग्रहण गरेको भन्नेसम्म पनि लेखियो । सायद अरुले कमेडी मुद्रामा शपथग्रहण गर्ने गर्थे कि !
नेपाल राष्ट्र बैंक नेपालको सबैभन्दा प्रभावकारी र बलियो नियामक हो । बैंकिङ क्षेत्रको नियामक भएकोले यसको जिम्मेवारी अन्य नियामककोभन्दा अझ बढी छ । आजभन्दा साढे २ वर्ष अगाडि संबैधानिक आयोगको हैसियमा रहेको निर्वाचन आयोगमा नेपाली कांग्रेस भनेर रेकर्डेड डा. विश्वनाथले आज म गैरराजनीतिक व्यक्ति हुँ वा म कांग्रेस होइन भन्न सक्नु आफैमा माथिल्लो तहको ढोँगबाहेक केही होइन । र, गभर्नर सिफारिस समितिमा नेपाली कांग्रेसको तर्फबाट समिति सदस्य बनेको व्यक्ति आफू गभर्नर बन्ने मौका पाउनासाथ म कांग्रेस होइन भन्न सक्नु माथिल्लो तहको कपट हो । यस्तो ढोँग र कपटले युक्त व्यक्ति नेपाल राष्ट्र बैंक जस्तो नियामकको प्रमुख बन्न अयोग्य हुन्छ ।
डा. विश्वनाथ गभर्नर सिफारिस समितिको सदस्य हुँदाको एउटा तथ्य बाहिरिएको थियो । उनले वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानालाई गभर्नरमा सिफारिस गर्ने हो भने समितिको बैठकमा आफू नआउने बताएका थिए । जबकि राष्ट्र बैंक ऐनले नै गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नरलाई अनिवार्य रुपमा सिफारिस गर्नुपर्छ भनेको छ । अर्थात गभर्नरमा सिफारिस हुन पाउने डा. निलमको कानुनी अधिकार पनि हो । किनभने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट एक जनालाई कानुनी रुपमा गभर्नरमा सिफारिस गर्नै पर्ने हुन्छ । तर, एउटा महिलामाथि यो स्तरको पूर्वाग्रह र प्रतिशोध राख्ने व्यक्ति आइएमएफ, विश्व बैंक जस्ता विश्वस्तरीय निकायसँग सोझै ‘डिल’ गर्नुपर्ने नेपाल राष्ट्र बैंक बैंकको प्रमुख बन्न नसुहाउने व्यक्ति हुन् ।
गभर्नरको कार्यभार सम्हालेकै दिन डा. विश्वनाथले पत्रकार ऋषि धमलासँग एउटा अन्तर्वार्ता दिएका छन् । सो अन्तर्वार्तामा उनको विज्ञताभन्दा बढी ‘एरोगेन्सी’ छचल्कियो । उनले डा. स्वर्णिम वाग्लेको नाम सुन्नै चाहेनन् । कांग्रेस सभापति शेरबहादुर देउवाको घर बाहेक अन्य नेताको घर नगएको दाबी गरे । डा. स्वर्णिमको नाम सुन्नै नचाहनु उनको संकिर्णता हो भने देउवाको कम्पाउण्डमै सबै कुरा प्राप्त भएको छ भने अन्यत्र धाउनु पर्ने आवश्यकता डा. विश्वनाथलाई परेकै देखिदैन ।
डा. विश्वनाथ खतरा अर्थशास्त्री हुन भन्ने मानक बनाइएको छ । उनले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार पदको राजकीय जिम्मेवारी लिएका छन् । नेपाल अहिले एफएटिएफको खैरो सूचीमा परेको छ । डा. पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदाको समय नभए पनि उनी अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार हुँदाको समयको नेपालको गतिविधिका आधारमा खैरो सूचीमा राखिएको हो । डा. विश्वनाथ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा बनेको खतरा योजना के हो र त्यसबाट नेपालले के लाभ प्राप्त गरिरहेको छ भन्ने तथ्य भने अझै पनि अस्पष्ट छ ।
नेपाल राष्ट्र बैंक ऐनले राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउने परिकल्पना गर्दैन । डा. विश्वनाथ नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । डा. विश्वनाथ गभर्नरमा नियुक्त हुनको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारका सदस्यको पाउमा आफ्नो इमान चढाएका छन् । पार्टीको तर्फबाट सांसद पदमा चुनाव उठेको व्यक्ति सो पार्टीको सदस्य हुदैन भन्ने कुतर्क स्थापित गर्न खोजेका छन् । उनले आफू कांग्रेस होइन भनेर गरेको कुतर्क अवसरवादको चरमोत्कर्ष हो । कांग्रेस सभापति र उनको परिवारका सदस्यको पाउमा नैतिकता र इमान चढाएर आएको व्यक्तिसँग आत्मम्मानको अपेक्षा गर्न सकिदैन । आत्मसम्मान नभएको व्यक्तिले कुशल नियामकको नेतृत्व गर्न सक्दैन ।
कांग्रेस सभापति देउवाको अनुकम्पाले गभर्नर पद प्राप्त गरेका डा. विश्वनाथ यसअघि पाएको राष्ट्रिय योजना आयोगको उपपाध्यक्ष पदबाट ३ तह तल झरेका छन् । यसरी उधोमुख लगाएका व्यक्तिले नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई सही मार्गदर्शन गर्न सक्छन् भन्नेमा संशय छ ।
पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ता हेरेपछि उनी आलोचना वा फरकमतप्रति कटु आलोचक छन् भन्ने बmुभ्न गाह्रो छैन । फरक मतसँग उनको पूर्वाग्रह छ । डा. विश्वनाथ जुन परिवेश र पृष्ठभूमिबाट नेपाल राष्ट्र बैंकको गभर्नर बनेका छन्, यो स्वभाविक बाटो होइन । किनकि, नेता र कार्यकर्ताहरुले राष्ट्र बैंकमै पुगेर पनि भन्ने छन्– जय नेपाल गभर्नर सा’ब !