काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनका निम्ति छानिएका प्रतिनिधिको विवरण सार्वजनिक हुने क्रम जारी नै छ । मंसिर २७–२९ सम्मका लागि हुन लागेको महाधिवेशनका लागि सहमति नजुटेका ठाउँमा निर्वाचन भएको हो । निर्वाचनमा ‘हेविवेट’ले पनि हार ब्यहोरेका छन् ।
प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा पराजित भए । उनी काठमाडौं–४ बाट खुल्लातर्फबाट उमेदवार बनेका थिए । खुल्लाबाट दुईजना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भएका हुन् । उनले २०१ मत पाए ।
खुल्लामा श्रीकष्ण श्रेष्ठले २४१ र उद्धव खरेलले २१२ मत ल्याएर निर्वाचित भए । खरेल बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर हुन् । पराजित थापा पार्टी अध्यक्ष केपी ओली पक्षीय हुन् । काठमाडौं–४ एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको क्षेत्र हो ।
जहाँ पूर्वराष्ट्रपति विद्या भण्डारी छन् । जहाँ संस्थापन इतरको बाहुल्यता छ । विगतमा पूर्वराष्ट्रपतिका स्वकीय सचिव रहेका बद्री भट्टराई पनि पराजित भए ।
काठमाडौं–४ मा उनी खुलाबाट उमेदवार बनेका थिए । भण्डारी अध्यक्ष बन्ने परिस्थिति नभएको भन्दै कित्ता परिवर्तन गरेपछि उनी पराजित भएको निकटस्थ नेताहरूले बताए । त्यस्तै, ओलीका आधिकारिक उमेदवार राजन पोखरेल पनि पराजित भएका छन् ।
त्यस्तै, कोसी प्रदेशसभाका दुई सदस्य पराजित भएका छन् । सुनसरी क्षेत्र नम्बर–१ मा कोसी प्रदेशसभाका सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राई हारेका हुन् ।
त्यहाँबाट खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निर्वाचित भए । निर्वाचित सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरे । पराजित बस्नेतले ३७६ र राईले ३९१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
उनीहरू दुवैजना सुनसरी–१ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित सदस्य हुन् । बस्नेतले सुनसरी क्षेत्र नम्बर–१ ‘क’ र राईले ‘ख’बाट प्रतिनिधित्व गर्छन् ।
त्यस्तै, रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् । मल्लको पक्षमा १११ मत मात्रै खस्यो । महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी भए । कौशिलाले २०४ र हिमकुमारीले २०३ मत पाए ।
त्यस्तै, मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नै पराजित भएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ तर्फबाट खुला सदस्यमा उमेदवार बनेका थिए । ३३४ मत प्राप्त गरे । यसै समूहतर्फ पूर्वराष्ट्रियसभा सदस्य रामचन्द्र राई पनि प्रतिनिधि छनोट भएनन् । उनले ३०२ मत प्राप्त गरे । पराजित मकवानपुर अध्यक्ष पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिन्छन् ।
त्यस्तै, अर्घाखाचीको शितगंगा नगरपालिकाका उपप्रमुख समेत रहेकी गीता भाट क्षेत्री पराजित भइन् । महिलातर्फ निर्वाचित हुनेमा दीपा आचार्य, सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम प्रतिनिधि चुनिएका छन् । प्रतिनिधि छनोटमा तल्लै तहसम्म धुव्रीकरण देखिएको छ ।







