काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमार्फत एमालेले यस कदमको घोर निन्दा र भर्त्सना गरेको हो।
विज्ञप्ति अनुसार, उपाध्यक्ष पौडेल पार्टीको साङ्गठनिक कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले उनलाई ुगैरकानुनी ढङ्गले अपहरणको शैलीमाु गिरफ्तार गरेको हो। पूर्वनिर्धारित कार्यतालिका अनुसार पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि काठमाडौँ फर्कने तयारीमा हुनुहुन्थ्यो।
प्रतिशोध र अधिनायकवादी कदमको आरोप
नेकपा ९एमाले० ले वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोध साधिरहेको आरोप लगाएको छ। वक्तव्यमा भनिएको छ 'ूविधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ।'
एमालेले यसलाई केवल सस्तो स्टन्ट र राजनीतिक खपतका लागि गरिएको बदनियतपूर्ण गिरफ्तारी भन्दै सत्ताको उन्मादमा गरिएको अधिनायकवादी कदमको डटेर सामना गर्ने चेतावनी दिएको छ।
सरकारलाई चेतावनी र आन्दोलनको आह्वान
वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै एमालेले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएको छ।
साथै, सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न एमालेले सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान समेत गरेको छ।





