
काठमाडौँ । रघुगंगा गाउँपालिकाले पालिकाबासीका लागि निःशुल्क आँखा उपचार शिविर संचालन गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको हो । शिविरमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सहित ९५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
शनिबार सम्पन्न शिविरमा १६० जनाले आँखा परीक्षण सेवा लिएका छन् । वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले वडास्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रियासहितको शिविर राखेर निःशुल्क उपचार गर्ने प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए । शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भएको छ ।
बिरामीको आँखाको परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र निःशुल्क एक सातापछि फलोअप सेवासमेत दिने तयारी गरिएको तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिए । शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्चरक्तचाप, रगतलगायत परीक्षण र जाँच पनि गरिएको थियो ।