Odapalika - The Fourth Estate - चौथो अंग
मेला भर्न स्थानीय तहले दिए २ दिन सार्वजनिक बिदा

 

काठमाडौँ । कञ्चनपुरका ४ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताए । उनका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ । 

नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताए ।वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए ।  

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update