
काठमाडौँ । लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको चितवनको राप्ती नगरपालिकाले आजबाट लागु हुनेगरी एकैपटक ७४ जना कर्मचारीलाई जागिरबाट निकालेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसमेत नभएका बेला १४औँ नगरसभाले गठन गरेको एउटा समितिको प्रतिवेदनलाई आधार मानेर नगरपालिकाले करार र ज्यालादारीका ७४ जना कर्मचारीलाई २६ जेठदेखि लागु हुनेगरी वर्खास्त गरेको हो ।
मेयर शमशेर लामाका अनुसार नगरसभाले बनाएको सहजीकरण समितिको १९ जेठको निर्णय तथा सिफारिस र अखितयार दुरुपयोग अनुसन्धान आयोगको चासोसमेतका आधारमा कर्मचारी हटाउने निर्णय भएको हो ।
कर्मचारी हटाउने निर्णयवारे जानकारी दिन जारी गरिएको सूचनामा आठौँ तहका अधिकृत शैलेन्द्र भण्डारीको हस्ताक्षर छ ।
सूचनामा भने नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै सोमबारदेखि नै लागू हुनेगरी करार र दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई आकस्मिक सूचना जारी गरेर विदा दिएको छ ।
नगरपालिकाले हटाइने कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेको कर्मचारीहरुले बताएका छन् ।
नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख भण्डारीले जारी गरेको सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ ।
समितिको संयोजक नगरप्रमुख शमेसेर लामा थिए भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा न. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का वडाध्यक्ष अर्जुन प्रजा सदस्य थिए ।