
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटको गुजारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका डा. श्रवणकुमार शाहलाई २४ घन्टा नबित्दै सरुवा गरेको छ ।
आइतवार पालिकामा हाजिर भएका डा शाहलाई मन्त्रालयले सोमवार नै रौतहटकै चन्द्रपुर नगरपालिकामा सरुवा भएको पत्र थामाएको छ । गुजारामा सरुवा भएको लामो समय पनि हाजिर नभएका उनी चन्द्रपुरमा भने सरुवा भएकै दिन पुगेर कामकाज थालेका छन् ।
मन्त्रालयले सरुवाको पत्र तयार पारेर पठाएको एक घन्टाभित्रैमा उनी सरुवा भएको पालिकामा पुगेर हाजिर गरिसकेका छन् । यो घटनासँगै गुजारा नगरपालिका फेरि बजेटको मुखमा प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको छ ।
गुजारामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालालाई पनि मन्त्रालयले जनकपुरधाम उपमहानगरपाकिलामा सरुवा गरिसकेको छ । एझण्डे डेढ महिना अघि सरुवा भएपनि अहिलेसम्म नगरपालिकाले ढकाललाई नै प्रशासकीय अधिृकतका रुपमा उसको वेवसाइटमा परिचित गराइरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने डा शाहले आफु चन्द्रपुर नगरपालिकामै सरुवा हुन चाहेको बताएपछि उनलाई मागअनुसारको स्थानमा पठाइएको गैरजिम्मेवारपूर्ण प्रतिकृया दिएको छ ।