
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाले नाम परिवर्तन गर्ने प्रस्ताव नगरसभाबाट पारित गरेको छ ।
नगरपालिकाले बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबारको नाबाट हुने गरी पालिकाको नाम बार्जु नगरपालिका राख्ने निर्णय गरेको हो ।
ये दरवार हाल भग्नावशेषमा परिणत भएको छ । नगरपालिकाले दरवारको सम्मानमा पालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेपनि यसको संरक्षण र प्रचारका लागि भने खास पहल गरेको छैन । नाम परिवर्तन गरेर दरवारकै नाम राखेपछि भने यसको प्रचार र संरक्षणमा पालिकाको ध्यान जाने जनप्रतिनिधिहरु बताउँछन् ।
वुढीगंगा नाम गरेका स्थानीय तहको नाम धेरै भएका कारण पनि समस्या भएकाले नाम परिवर्तन गरेको र विवादरहित नाम खोज्दा दरवारकै नाममा सहमति जुटेको मेयर रामबहादुर बानियाँ बताउँछन् । बुढीगंगा नाम गरेको स्थानीय तह मोरङमा पनि छ ।
नगरसभाले निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारबाट आवश्यक प्रक्रिया सकेपछि औपाचारिक रुपमा नाम परिवर्तन हुनेछ ।
१० वटा वडा रहेको बुढीगंगा नगरपालिका साविकका बाह्रविस, ब्रहमतोला र कुल्देमाडौ गाविस मिलेर बनेको हो ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले समेत सहमति गरेर बुढीगंगाको नाम परिवर्तन गरेर बार्जु वा बार्जुकोट राख्न सुझाव दिएका थिए । तर सभाले भने बार्जुमात्र राखेको छ ।