Odapalika - The Fourth Estate - चौथो अंग
सुर्योदयकाे हर्कटे र भारतको सीमा क्षेत्र निन्दा जोड्ने सडक निर्माणमा चलखेल, स्थानीयवासी आन्दोलित 

इलाम । इलामको सुर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण सम्झौता र विधिविपरित गर्न लागेको भन्दै स्थानीयले तीब्र असन्तुष्टि जनाएका छन् । 

प्रदेश सरकारले हर्कटेबाट शुरू गर्नुपर्ने सडक मनपरि ढंगले निन्दाबाट नापजाँच शुरू गरेपछि तीब्र आलोचना बढेको हो । सूर्योदय नगरपालिकाको सत्रौं नगरसभाले मुुख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोही अनुरूप गर्नको लागि ध्यानाकर्षण गराएको जनाएको छ ।

सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी छ । हर्कटेबाटै काम शुरू गर्न नगरपालिका, रोङ ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेश सांसदहरुरूले समेत ध्यानाकर्षण गराईरहेको बताएका छन् । तर, एकतर्फी काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

अधिकारको दुरूपयोग गरी शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारिलाई नछोड्ने सनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंदै आएका छन् ।

सूर्योदय नगपालिकाका एक जनप्रतिनिधिले भने, ‘शीर्षक बमोजिम नै काम गर्नुपर्छ, उल्टो गर्नु भनेको शक्तिको दुरूपयोग मात्र हो ।’ यसैबीच, शीर्षक विपरित काम गर्न लागेको भनी दवाव दिने राजनीतिक नेतृत्व र प्रभावमा काम गर्ने कर्मचारीले अधिकारको दुरूपयोग गरेको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ । अधिकार दुरूपयोग गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गरिएको स्रोतले बतायो ।

संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्री सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटेबाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही व्यक्तिहरूको स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ ।

रोङ–६ का राजन आचार्य भन्छन्, ‘सबै भन्दा पहिले उक्त बाटो खन्न सुरु कहाँ र कहिलेबाट भयो यसको इतिहास हेर्नुपर्ने हो, दोस्रो कुरा साबिक जिर्मले क्षेत्रका कृषि उपज र सलकपुरबाट निकासी हुने कृषिउपज मुल्यांकन गरी आवश्यकता वा प्राथमिकताको आधारमा हुनुपर्छ त्यो भनेको हर्कटेबाटै हो, तेस्रो कुरा झण्डीडाँडाबाट तल सलकपुर खण्डमा ठुला सवारीले बाटो थर्काएको र चर्किएको छ, यकिनका साथ बाटोको स्थायित्वको पनि प्रश्न छ । अझ अर्को कुरा सीमा सडक पनि निन्दाबाट सलकपुर जाने भएकोले डुव्लिकेसन भइरहेको छ’, उनले थपे ।

यस सडकलाई पछिल्लो पटक १० करोड रुपैयाँ स्रोत सुनिश्चिततासहित बहुवर्षीय योजनामा हाल्न रोङ–६ का वडाध्यक्ष सत्यम राई चौरासेको पहल रहेको कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update