Odapalika - The Fourth Estate - चौथो अंग
दैलेखपछि अब म्याग्दीमा ध्यान, मालिका गाउँपालिकामा तामाखानी उत्खनन् हुने 

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । 

खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम–एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो । मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ । 

मालिका गाउँपालिका ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ । 

प्रभावित क्षेत्रका बासिन्दाहरुको सुझाव संकलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो । कम्पनीले मंगलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा सङ्घसंस्थाबाट सुझाव माग गरेको छ । 

स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । 

स्थलगत अध्ययनका लागि पुगेका भूगर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । 

ओखरबोटको खानीबाट २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । तामाखानीमा दैनिक दुई सयभन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन ८ धार्नीसम्म तामा निकाल्ने गरिएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update