
काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(०८२ मा पालिकाभित्र रहेका ५ ५४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम १ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच र्पुयाउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको जनाएको छ ।
निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले चालु आर्थिक वर्षमा १ करोड ७२ लाख ७२ हजार १५० रुपैयाँ स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बीमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् ।
कालीगण्डकी– १ मा ७७२ घरधुरी, वडा नम्बर २ मा ७२६ घरधुरी, वडा नम्बर ३ मा ५८३, वडा नम्बर ४ मा ६६८, वडा नम्बर ५ मा ६८०, वडा नम्बर ६ मा ५८८ र वडा नम्बर ७ मा ५२६ गरी कूल ४ हजार ५४३ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।
गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमावापत ६१ लाख ७७ हजार १५० रुपैयाँ भुक्तानी गरेको थियो । गाउँपालिकाका सबैै वडाका ४ हजार ५४३ घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।