
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत विरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध ज्यान मार्ने उद्योगको कसुर गरेको भन्दै जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौँले वडाध्यक्ष बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि वडाध्यक्ष बस्नेत मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर भएका छन् ।
उनी निवेदनसहित हाजिर भएको र बयान लगायतका अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
तारकेश्वर नगरपालिका–११ र काठमाडौं महानगर–१६को सीमाना पर्ने महादेव खोला किनारमा बाँध निर्माण गर्ने विषयमा दुई पक्षका स्थानीयबीच झडप भएको थियो। वडाध्यक्ष बस्नेत सोही विवादमा मुछिएका हुन् । उनी उनी कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनी निर्वाचित भएका थिए ।