Odapalika - The Fourth Estate - चौथो अंग
ट्होंटे पर्वमा मंगलबार कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा बिदा

पोखरा । गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् ।

तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जनाएका छन् । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहने सूचनामा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलद्वारा जारी सूचनामा ‘आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा बिदा दिइएको उल्लेख छ ।

ट्होंटे पर्व गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँबस्तीलाई बचाउनका लागि मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विशेष संस्कृति, पर्व र जात्राहरूको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय बिदा दिन सक्ने अधिकार छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update