
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिसा)को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक तथ्यांक अनुसार खोटाङको रावा बेसी गाउँपालिका सर्वाेत्कृष्ट बनेको छ । यद्यपि, मन्त्रालयको विवरणमा भने सो गाउँपालिकालाई लामिडाँडा गाउँपालिका भनिएको छ । गाउँपालिकाले आफ्नो नाम र केन्द्र परिवर्तन गरेको भएपनि मन्त्रालयले विवरण अद्यावधिक नगरेका कारण लामिडाँडा गाउँपालिका नै उल्लेख गरिएको हो ।
रावाबेसीले लिसामा ९९.७५ अंक ल्याएको छ । यसको पूर्णांक १०० अंकको हो । १० सुचकलाई आधार मानेर अंक दिइने यो परिपाटीले स्थानीय सरकारको प्रगति देखाउँछ ।
लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सुचक बनाइएको छ । रावाबेसी गाउँपालिकाले यी सबै सुचकमा करिब शतप्रतिशत अंक प्राप्त गरेको छ ।
लिसाको दोस्रो स्थानमा पनि गाउँपालिका नै छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिसामा दोस्रो भएको छ । सो गाउँपालिकाले ९९.५ अंक प्राप्त गरेको छ ।
तेस्रो स्थानमा भने रत्ननगर नगरपालिका परेको छ । सो नगरपालिकाले ९९.२५ अंक प्राप्त गरेको छ । चौथो नम्बरमा सिरहाको औरही गाउँपालिका परेको छ । औरहीले पनि ९९.२५ अंक प्राप्त गरेको छ ।
पाँचौ नम्बरमा चितवनको खैरहनी नगरपालिका छ । सो नगरपालिकाले लिसामा ९९ अंक प्राप्त गरेको छ । सातौं नम्बरमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका छ । सो गाउँपालिकाले लिसामा ९९ अंक पाएको छ । यस्तै, धनुषाको सबैला नगरपालिकाले पनि ९९ अंक नै पाएको छ ।
सातौं नम्बरमा जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका छ । सो नगरपालिकाले लिसामा ९८.७५ अंक पाएको छ । नवौं नम्बरमा पर्वतको जलजला नगरपालिका परेको छ भने १०औं नम्बरमा धालिङको नीलकण्ड नगरपालिका परेको छ । जलजलाले ९८.५ अंक पाएको छ भने निलकण्ठ पनि ९८.५ अंक नै पाएको छ ।
निलकण्ठ नगरपालिका नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना मेयर रहेको नगरपालिका हो । देशभरमा ६ वटा महानगर भएपनि कुनै पनि महानगर लिसामा उत्कृष्ट १० मा परेका छैनन् । यस्तै, काठमाडौँ उपत्यका भित्रका कुनै पनि स्थानीय तह लिसाको उत्कृष्ट १० मा परेका छैनन् ।